बिम्स्टेकमा काठमाडौंको यातायात व्यवस्था : जोर बिजोर लागू

0
9

आउने १४ र १५ गते काठमाडौंमा हुने चौथो बिम्स्टेक सम्मेलनका लागि भव्य तयारी भईरहेको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)मा नेपालसहित, बंगलादेश, भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार र भुटान छन् । बिम्स्टेक नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ । नेपालले सम्मेलनमा बंगलादेशको बन्दरगाहसम्म सिधै पहुँचका लागि पहल गर्नुपर्ने सुझाव दिईइको छ । त्यतिमात्र नभई विद्युतीय ग्रिड सम्बन्धी महत्वपूर्ण सम्झौताको समेत चर्चा छ ।

विभिन्न कोणबाट चर्चामा रहेको बिम्स्टेक सम्मेलनलाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई मूख्य ध्यान दिन निर्देशन दिएको छ । बिम्स्टेक सदस्य राष्ट्रका विषेश पाहुनाको सत्कार र सम्मानका लागि, सधैँ जसो अस्तव्यस्त हुने ट्राफिक व्यवस्थालाई सुरक्षित र चुस्त बनाउन ट्राफिक प्रहरी महाशाखाले जोर विजोर नम्बर प्रणाली अपनाउने भएको छ । जोर विजोर लागू हुँदा साविकको तुलनामा गाडी कम गुड्ने भएका कारण यात्रुले तीन दिन केही कष्ट गर्नु पर्ने देखिएको छ ।

यो प्रणाली १३ गतेदेखि नै लागू हुनेछ । महाशाखाका अनुसार १४ र १५ गते हुन लागेको बिम्स्टेक सम्मेलनमा सहभागी हुन आउने विदेशी विशेष अतिथि तथा प्रतिनिधिहरुको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन भदौ १३, १४ र १५ गते तीन दिन उपत्यकामा चल्ने सबै निजी तथा भाडाका सवारी साधनलाई जोर विजोर प्रणाली अनुसार सञ्चालन गरिनेछ ।

नम्बर प्लेटको अन्तिम अंकको आधारमा जोर विजोर छुट्टयाईनेछ । १३ र १५ गते चल्ने सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१, ३, ५, ७, ९) हुने छ । यसलाई विजोर भनिएको छ । अर्थात् १३ र १५ गते विजोर नम्बर भएका गाडी चल्नेछन् । सम्मेलनको उद्घाटन समारोहका दिन १४ गते जोर नम्बरका गाडी मात्र चल्ने छन् । जसको नम्बर प्लेटको अन्तिम अंक (०, २, ४, ६, ८) हुनेछ ।

उपत्यकामा कति गाडी छन् ?
ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार पुरानो बाग्मती अञ्चलमा दर्ता भएका सवारी साधन ११ लाख ७२ हजार छन् । त्यसमा पनि ९ लाख मोटरसाईकल नै छन् । २ लाख बस, ट्रक, माईक्रो, टिपर, जीप, कार आदी छन् । भाडाका सवारी साधनको कुरा गर्ने हो भने, मात्रै पनि पछिल्लो समय निकै झगडा गरि रुट पाएको मयूर यातायातकै ४४ वटा गाडी छन् । यस्तै, ललितपुरका साझा यातायातका ४७ सवारी छन् ।

सूर्यमति यातायातका ३५ र नेपाल माईक्रोबस गोंगबुकै ५९ वटा गाडी छन् । काठमाडौं उपत्यकामा यस्तै संख्यामा गाडी भएका थुप्रै यातायात प्रालीहरु छन् । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ९३ अनुसार पञ्जिकृत भएका सार्वजनिक यातायात सेवा अन्र्तगत ३३२ वटा प्राली दर्ता भएका छन् । पहिले देशभर छरिएर रहेका यातायात समितिहरु खारेजीको घोषणा भएसँगै अहिले कम्पनी ऐन अन्तर्गत यातायात सेवा प्रालिहरु दर्ता हुन थालेका छन् ।

जोर विजोर लागू हुँदा पनि ४३ प्रतिशत गाडी गुड्ने
बिम्स्टेक सम्मेलनलाई मध्यनजर गर्दै १३, १४ र १५ गते जोर विजोर प्रणालीमा गाडी चल्दा काठमाडौं उपत्यकामा करिब ४३ प्रतिशत गाडी भने गुड्ने छन् । बाँकी ५७ प्रतिशत गाडी भने होल्ड बस्ने छन् । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी राजकुमार लम्सालले भने, ‘जोर विजोर लागू भए पनि करिब ४३ प्रतिशत गाडी गुड्ने छन् । यद्यपि, सवारीको बेला भने पूरै बाटो खाली गरिनेछ ।’ यस्तै, उनले ईमजेन्सी परे मात्रै कोरिडोरको बाटो प्रयोग गरिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस