हेटौंडामा कांग्रेस जिल्ला सभापतिको भेलाको तयारी

0
28

असारको पहिलो साता हेटौंडामा नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हुने भएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असारको ५, ६ र ७ गते हेटौंडामा जिल्ला सभापतिहरुको भेला हुने जानकारी दिए । भेलाले आगामी संरचनाको एजेण्डा, विधानको संशोधन, पार्टीको संगठन तथा भातृ र शुभेच्छुक संघसंगठनहरु सुदृढिकरण र समसामयिक राजनीतिक परिवेश र आगामी दिनमा पार्टीलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा छलफल गरिने प्रवक्ता शर्माले बताए ।

कांग्रेसले राष्ट्रिय जागरण अभियान’ चलाई सबै क्षेत्रलाई कांग्रेसमय बनाउने अभियान सञ्चालनबारे पनि भेलामा छलफल हुने उनले जानकारी दिए । राष्ट्रिय भेलालाई सफल बनाउन विभिन्न १० समितिहरु गठन गरी जिम्मेवारी दिइएको छ । प्रदेश ३ का कांग्रेस संसदीय दलका नेता एवम् मकवानपुरका जिल्ला सभापति इन्ऽबहादुर बानियाँले प्रदेश समन्वय संयोजकमा उपसभापति विष्णुप्रसाद लामिछाने, मिडिया सेन्टर संयोजकमा जिल्ला सचिव बुद्ध लामा, मञ्च तथा हल व्यवस्थापनमा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रचारप्रसार संयोजकमा प्रवक्ता प्रदीप कोइरालालाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै खाना संयोजकमा जिल्ला सदस्य रामबाबु बानियाँ, स्वास्थ्य संयोजकमा जिल्ला सदस्य राजीव सुवेदी, स्वयंसेवक समिति संयोजकमा जिल्ला सदस्य अर्जुन तिवारी, आवास संयोजक सल्लाहकार भरत पराजुली, साँस्कृतिक संयोजक जिल्ला सदस्य सुशान्त श्रेष्ठ र अतिथि सत्कारमा हेटौंडा नगर सभापति आनन्दराम पराजुली रहेका छन् । सभापतिहरुको राष्ट्रिय भेलामा ७७ जिल्लाका सभापतिहरु र केन्द्रिय समितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस