नयाँ अनुहारको बाहुल्यतासहित आज मन्त्रिपरिषद विस्तार

0
31

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।सत्तासाझेदार माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डा टुंगिए पनि पार्टीकै तर्फबाट कांग्रेसले मन्त्री छान्न नसकेपछि मन्त्रिपरिषद् विस्तार सरेको हो। यद्यपि, यसपटक सरकारमा कांग्रेसबाट नयाँ अनुहार सहभागी हुने देखिएको छ। 

देउवा समूहबाट मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेतको नाम मन्त्रीमा टुंगो लागेको स्रोतले जनाएको छ। यी चारै जना मन्त्रीमा नयाँ अनुहार हुन् भने जोशी मात्र प्रत्यक्ष निर्वाचित सांसद हुन्। उक्त समूहबाट विश्वकर्मा र जोशीले सूचना तथा सञ्चार मन्त्रालयमा दाबी गरेका छन् भने बलायरले भौतिक मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ। खुमबहादुर खड्का समूहबाट मोहनबहादुर बस्नेत र कृष्णप्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधानले मन्त्रीमा अवसर पाउँदै छन्। बस्नेत र प्रधान दुवै प्रत्यक्ष निर्वाचित सांसद हुन्।

कांग्रेसले १३ र माओवादी केन्द्रले नौ मन्त्रालय लिने सहमति भए पनि दुवै दलबाट तीन/तीन जना यसअघि नै मन्त्री भइसकेकाले बाँकी मन्त्रालयमा भागबन्डा मिलाउनुपरेको हो। लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकासमन्त्री बनिसकेका कारण उक्त दललाई पर्यटन र भूमिसुधार मन्त्रालय दिइने भएको छ। फोरमले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा छोटो समय मात्र मन्त्री बनेका जितेन्द्र देव र गोपाल दहितलाई नै मन्त्री बनाउने तयारी गरेको नेता रामजनम चौधरीले जानकारी दिए।

नेकपा संयुक्तले दाहाल नेतृत्वको सरकारका पालामा पाएको वातावरण मन्त्रालय नै पाउने भएको छ। उद्योग, वन, शान्ति र विज्ञान तथा प्रविधि मन्त्रालय हाललाई प्रधानमन्त्रीसँग राख्ने र राप्रपालगायत दलसँग कुरा मिले उनीहरूलाई पछि ती मन्त्रालयको जिम्मा दिने सहमति कांग्रेस र माओवादी केन्द्रबीच भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।

आज हुने मन्त्रिपरिषद् विस्तारमा माओवादीका मन्त्रीहरु पनि समेटिनेछन् । माओवादीले मन्त्रीको नाम टुंगो लगाइसकेका भनेको छ तर, अहिलेसम्म सार्वजनिक गरेको छैन । ९ मन्त्रालय पाएको माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा प्रभाकर र शहरीविकास मन्त्री प्रभु साह भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस