तत्काल केबल प्रविधिको एनालग टेलिभिजन सेवा बन्द नहुने

0
17

शुक्रबारदेखि काठमाडौंसहित प्रमुख ५ शहरमा सेट-टप बक्स नजोडिएका केबल टेलिभिजनका सेवा बन्द हुने हल्ला छ । तर, सरकारले डिजिटल नहुँदैमा तत्काल केबल प्रविधिको एनालग टेलिभिजन सेवा बन्द नहुने स्पष्ट गरेको छ शुक्रबारदेखि काठमाडौं सहित बिराटनगर, वीरगञ्ज, ललितपुर र पोखरामा डिडिटल टेलिभिजन प्रशारणलाई अनिवार्य गरेपनि सरकारले अझै लोकल केबल अपरेरटरलाई डिजिटलाइज्ड गर्न केही समय दिने बताएको छ ।

सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार टेलिभिजन सेवालाई डिजिटलाइज्ड गर्ने सरकारी नीति भएपनि डिजिटल नगर्नेहरुको सेवा बन्द गर्ने नीति र ब्यवस्था कानुनमा नभएकोले अब केबल अपरेरटरलाई विभिन्न ब्यवस्थामार्फत डिजिटलमा बाध्य पारिने बताए ।

सञ्चार मन्त्रालयले असारमा सबै केबलहरुको नवीकारण हुने भएकाले डिजिटल नभएका केबलहरुको सञ्चालन अनुमिति म्याद नथिपिने  स्पष्ट गरेको छ । डिजिटलमा जाने गरी नआउने ५ शहरका केबल अपरेरटरले असारसम्म डिजिटलमा नगए कम्पनी नै नवीकारण गर्न पाउने छैनन् ।‘हामी केबल टिभी डिजिटल नभएका सीधै स्वीच आफ गर्दैनौं । नीतिगत ब्यवस्थाहरुद्वारा उनीहरुलाई डिजिटलमा जान बाध्य पार्छौं’ प्रवक्ता ढकालले भने,’सिग्नल सेवा प्रदायकलाई हामीले डिजिटलमा नगएका केबलहरुलाई सिग्नल रोक्न निर्देशन दिएका छौं । अब केबल अपरेरटरहरुलाई डिजिटलमा नगई सुखै छैन । तर, केही समय लाग्छ ।’

सरकारले इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटीयू)ले निर्धारण गरे बमोजिम एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा प्रदायकहरूलाई डिजिटल प्रणालीमा बदल्न बाध्यकारी नियम ल्याएको हो । अब परम्परागत न्यून गुणस्तरको टेलिभिजन सिग्नलको सट्टा उपभोक्ताले स्तरीय सेवा पाउनेछन् । यसको कार्यान्वयन थालेसँगै अब परम्परागत प्रविधिको टेलिभिजन विस्थापित हुने क्रममा छ । अब केबल टेलिभिजनको गुणस्तरहीन सेवाबाट आम उपभोक्ताले मुक्ति पाउनेछन् । यसैका माध्यमबाट सरकारको राजस्वमा पनि भारी वृद्धि हुनेछ ।

अहिले केबल अपरेटरहरूले ग्राहक संख्या न्यून देखाएर भ्याट बिल जारी नगर्ने समस्या छ । अब सबै अपरेटरको सेवाग्राहीको विवरण लुकाउनै नमिल्ने भएकाले केबल टेलिभिजनमार्फत ग्राहक ठग्ने र राज्यलाई कुनै राजश्व योगदान नगर्नेहरु नियममा बाध्यकारी रुपमा आउने छन्। नेपालमा झण्डै ५० लाख टेलिभिजन सेट सञ्चालनमा छन् भन्ने अनुमान छ । तर, त्यसअनुरुप सरकारलाई केबल अपरेटरहरुले राजस्व भरेका छैनन् ।

अब भने वास्तविक रुपमा कति टेलिभिजन चलिरहेका छन् भन्ने तथ्यांक पनि सरकारसँग आउनेछ ।यही डिजिटल प्रविधिको पूर्ण प्रयोग भएपछि लटर-पटर तरिकाले केबल टेलिभिजन चलाउनेहरुको राज रहने छैन ।त्यसैले अहिले केबल अपरेटरहरुले मल्टी सर्भिस अपरेटरसँग मिलेर सेट-टप बक्स वितरण गरिरहेका छन् । कसैले सःशुल्क वितरण गरिरहेका छन् भने कसैले निःशुल्क पनि बाँडिरहेका छन् ।

अब नेपाल भित्रिने सबै सेट-टप बक्सको रेकर्ड सरकारसँग हुने भएकाले देशमा कति टीभीमा सेट-टप बक्स लागे भन्ने सीधै थाहा हुनेछ । अहिलेको केबल टेलिभिजनमा सेट-टप बक्स लगाउनासाथ टीभीको श्रब्य दृश्य गुणस्तर उच्च हुनेछ । यसले टीभी हेर्दा आनन्दको महसुस मात्रै हुने छैन, अनेकन झञ्झटबाट उपभोक्ता मुक्त हनेछन् । एनालग टेलिभिजन पुरानो प्रविधि भएकाले नै विकसित देशले यसलाई हटाइसकेका छन् ।