साउदीमा सात बर्ष जेल बसेका चक्र बहादुर किन पुगे प्रधानमन्त्री कार्यालय ?

0
10

काठमाडौं –  ७ बर्ष बिनाकसुर साउदी अरबको जेलयात्रा भोगेर एक महिनाअघि नेपाल फर्किएका धरानका चक्रबहादुर गुरुङ हालै परिवारसहित प्रधानमन्त्री कार्यालयमा भेटिए ।

बैदेशिक रोजगारीका लागि साउदी अरब पुगेको १३ बर्षपछि काठमाडौं टेक्दा चक्रलाई सपनाजस्तै लाग्यो ।

बिनाकसुर एउटा लामो जेलयात्रापछि निर्दोष सावित भएर उनी स्वदेश फर्किएका थिए ।

शुरुमा त उनलाई तीन बर्षको जेल सजाँय सुनाइएको थियो । तर सात बर्षसम्म राखियो, र पछि निर्दोष सावित गर्दै जेलमुक्त गरियो ।

भयावह र आतेसलाग्दा ती सात बर्षका दिन–रात काटेर जेलमुक्त भएपछि चक्रबहादुर गूरुङ् नेपाल फर्किएका थिए अर्को जुनी लिएको अनुभूती बोकेर ।

त्यहि पीडा सरकारलाइ सुनाउन र न्यायको खोजीका लागि श्रीमती र छोरासहित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेका थिए उनी ।


उनीसँगै थप ९ जना नेपाली पनि जेलयात्राको आठौँ बर्ष शूरु भएपछि निर्दोष सावित भएका थिए । साउदी अरवको जेद्धास्थित बुरेमान जेलमा उनीहरुले सात बर्षका दिन–रात कटाएका हुन् ।

आफू कार्यरत कम्पनीले तलव दिन नसकेपछि गैह्रकानुनी हैसियतमा ११ नेपाली र ५ भारतीय नागरिक एउटै कोठामा बसेका थिए । सँगै बसेका एक भारतीय नागरिकको मृत्यु भएपछि उनको हत्या भएको आशंकामा त्यहाँ रहेका सबै नेपाली पक्राउ गरि थुनामा राखिएको थियो ।

थुनामा परेका बेला नेपाली नागरिक उमेश श्रेष्ठले जेलमै ज्यान गुमाएका थिए ।

सोही घटनाका कारण चक्रबहादुर गुरुङसँगै भोजपुरका श्रीकुमार राई, नवलपरासीका ४५ वर्षीय कृष्णबहादुर दमाई, विराटनगरका ३२ वर्षीय भीम चिमारिया, नुवाकोटका ६७ वर्षीय रामबहादुर तामाङ, ओखलढुंगाका ३० वर्षीय वीरबहादुर बुढाथोकी, तनहुँका ३६ वर्षीय केशबहादुर नेपाली, झापाका ४२ वर्षीय दीपेन्द्र शेर्मा, रुपन्द्रेहीका भक्तबहादुर दर्जी र रसुवाका सोमबहादुर तामाङले अनाहकमा ७ बर्ष लामो सजाँय पाएका थिए ।

उनीहरु एक महिना अघि नेपाल फर्किएका हुन् ।

तेह्रथुमको बसन्तपुर स्थायी घर भएका चक्रबहादुर गुरुङ् आफ्नो परिवार सहित धरान झरेका थिए । सामान्य आर्थिक अवस्था भएका गूरुङ सुनौलो सपना बोकेर २०६१ सालमा साउदी अरबमा हेभि ड्राइभरको कामका लागि गएका थिए गुरुङ् । घरमा छोडेका थिए साना दुई छोराछोरी र २१ बर्षमा हिडिरहेकी श्रीमती ।

काम गरेको कम्पनीले समयमा तलब नदिने, फेरी तीन चार सय रियाल तलबले खान पनि नपुग्ने भएपछि आफूले काम गर्दा गर्दैको कम्पनी छोडेर गैह्रकानुनी कामदारका रुपमा लुकेर उनले काम गरेका थिए । घर फर्किने दिन आइसकेको थियो । सबै प्रक्रिया मिलाइसकेका थिए तर दुर्भाग्य हत्या आरोपमा उनी सहित अन्य नेपाली पक्राउ परे । उनको आँखामा पट्टी लगाइयो र शूरु भयो जेलको चरम यातना र कष्टकर जिन्दगी ।

‘शुरुमा त धेरै यातना दिन्थ्यो, करेन्ट लगाउथ्यो, फाँसी दिन लैजाने कुरा सुनाउथ्यो, सँगै बसेका मान्छेहरुलाई घिसारेर लैजान्थ्यो’ झन्डै १ महिना अघि जेल मुक्त भएर प्रधानमन्त्री कार्यालयमा न्याय खोज्दै आइपुगेका उनले विगत सम्झिए
‘एक छाक खोलेजस्तो खाना दिन्थ्यो, सबै बन्दीले एउटै भाँडामा खानुपथ्र्यो ।’

उनले अब नेपालबाटै न्यायको खोजी शुरु गरेका छन् । निर्दोष व्यक्तिलाई सात बर्ष जेल राखेको क्षतीपूर्ति चाहन्छन् उनी ।

‘न्यायका लागि यो प्रक्रिया साउदीमै बसेर चालेको भए उतै ज्यान जाने जोखिम थियो ’ उनले सम्झिए ।

नेपाल सरकारसँग न्यायका लागि सहयोगको माग गर्दै उनी प्रधानमन्त्री कार्यालय आइपुगेका हुन् ।

दुतावासले सहयोग गरेन

साउदी अरबस्थित नेपाली दुतावासलाई चक्रबहादुर गुरुङ सहितका नेपाली जेलमा परेको कुरा जानकारी नभएको भने होइन । तर, दुतावासले गम्भिर ढंगले चासो नलिएको उनी बताँउछन् ।

चक्रले भने ‘कहिलेकाँही प्रहरीको आँखा छलेर दुतावासमा सम्पर्क गर्दा पनि रेस्पोन्स गर्दैनथे । राजदूतलाई फोन गर्दा तिमीहरुको मात्रै समस्या छ र म आफै पनि समस्यामा छु भन्थे ।’

मेरो पनि आफ्नो जिन्दगी छ, तिमीहरुको समस्या मात्रै समस्या हो भन्दै उल्टै धम्काउने गरेको प्रधानमन्त्री कार्यालयमा गुरुङले सुनाए ।

उनी जेल पर्ने बेलामा हरिशचन्द्र घिमिरे र त्यसपछि धुब्र रिजालसँग हुन्थ्यो तर उनीहरुले खासै चासो लिएर काम नगरेको उनले भने ।

अहिलेका साउदी अरबका महावाणिज्य दूतावास जेद्दाका बाणीज्यदूत मनहरी दंगाल (काउन्सुलर) ले भने ठुलो सहयोग गरेका कारण आफु स्वदेश फर्किन पाएको गुरुङले बताए ।

ऋण नै ऋणको भारी

घर आँउने तरखरमा रहेका श्रीमान अचानक बेपत्ता भएपछि घरमा रहेकी श्रीमतीको होसहवास नै उड्यो । एकबर्षसम्म उनी घर परिवारबाट सम्पर्क विहिन भए । बल्ल एकबर्षपछि साउदी अरबको जेलबाट लुकेर उनले घरमा फोन गरेर आफू बिना कसुर जेल परेको बताए । घरमा रुवाबासी चल्यो । कमाउन गएको मान्छे उल्टै जेलमा परेपछि घरमा झन् समस्या थपिनै नै भए ।

घरमा कहिलेकाँही प्रहरीको आँखा छलेर उनले फोन गर्थे । फोन गरेको देख्यो भने प्रहरीले जफत मात्र गर्दैनथ्यो, यातनाको सिकार पनि हुनुपथ्र्यो ।

उनी जेलमा परेपनि श्रीमतीले आफन्त र परिवारलाई अब अर्को बर्ष आउने भनेर कुरा छल्दै आएकी थिइन् । उनकी श्रीमतीले चक्र जेलमा परेको कुरा कसैलाई पनि भनिन् ।

‘लोग्ने बिदेशको जेलमा थुनिएको थाहा पाएपछि आफन्त र समाजले ऋण पत्याउदैनन्, मान्छेहरुले दुख दिन्छन भनेर मैले झुटको सहारा लिनुप¥यो । दुई छोरालाई पढाउन धेरैसँग ऋण लिनुप¥यो ’ सँगै प्रधानमन्त्री कार्यलय पुगेकी उनकी श्रीमतीले भनिन् । बिदेश जाँदा लागेको ऋण तिर्न १६ लाखमा जग्गा मात्र बेचिएन बिस बाइस लाख ऋण लागेको उनले सुनाइन् ।

न्याय चाहियो सरकार

न्यायको याचनाका लागि चक्रबहादुर छोरा र श्रीमतीसहित प्रधानमन्त्री कार्यालयमा पुगेका थिए । उनीसँगै नुवाकोटका ६७ वर्षीय रामबहादुर तामाङ पनि गएका थिए तर उनी नागरिकताको प्रमाणपत्र नबोकेका कारण सिंहदरबारको मूल गेटबाट भित्र छिर्न पाएनन् । उनी प्रधानमन्त्री कार्यालयमा जानुको एकमात्र उद्धेश्य सात बर्षसम्म बिना कसुर साउदी अरबमा थुनिएबापतको क्षतिपूर्तीका लागि थियो । साउदीमै बसेर पनि न्यायका लागि लड्न मन थियो तर फेरी समाएर थुनिदिने भएकोले नेपाल सरकार मार्फत आफू सहित अन्य दश जना नेपालीलाई नेपाल सरकारको पहलमा न्याय दिनुप¥यो भन्दै उनी छलफलका लागि गएका थिए ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार ऋषी अधिकारीलाई उनले भने–‘नेपाल सरकारले साउदी सरकारसँग के गरेर हुन्छ हामी अन्यायमा परेका नेपालीलाई क्षतिपूर्ति दिलाईदिनुप¥यो ।’

चक्रबहादुरको समस्या सुनेपछि प्रधानमन्त्री कार्यालयले उनीलगायत अन्यलाई कसरी न्याय दिलाउन सकिन्छ भनेर अध्ययन गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस