महोत्तरी काँग्रेस सभापतिमा पुनः महेन्द्रकुमार राय

0
22

नेपाली काँग्रेस महोत्तरीको १३औँ जिल्ला अधिवेशनबाट महेन्द्रकुमार राय पुनः सभापति पदमा विजयी भएका छन् ।मङ्गलबार सदरमुकाम जलेश्वरमा सम्पन्न मतदानको अहिले सम्पन्न मतगणना परिणामअनुसार आफ्ना प्रतिस्पर्धी नागेश्वर यादवलाई एकसय ४१ मतले पछि पार्दै राय जिल्ला सभापति पदमा विजयी भएका छन् ।

पछिल्ला २५ वर्षयता बीचको एक कार्यकालबाहेक सधैँ सभापति निर्वाचित हुँदै अाएका  रायले पाँचसय दुई मत प्राप्त गरेकाे काँग्रेस  जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रायका प्रतिस्पर्धी यादवले तीनसय ६१ मत प्राप्त गरेकाे कार्यालयका प्रमुख निर्वाचन अधिकृत ज्ञानेन्द्र रावलले जानकारी दिए । कुल नौसय ३५ मतदातामध्ये मङ्गलबार सम्पन्न मतदानमा आठसय ९० जनाले मतदान गरेका थिए । मतदाताले मतदान गर्दा कतिपय पदमा मत नगरेको पाइएको छ ।

त्यसैगरी, सचिवमा शम्भुनारायण पाठक र कोषाध्यक्षमा किशोर प्रितम निर्वाचित भएका छन् । यी दुवै पदमा पाठक र प्रितमविरुद्ध क्रमशः मनोजकुमार चौधरी र विनोद महतो उम्मेदवार थिए ।