असोसम्म राजधानीका धाराहरूमा मेलम्चीको पानी -सुरूङमा ब्रेक थ्रु

0
15

मेलम्ची खानेपानी आयोजनाको सुरूङमा ब्रेक थ्रु भएको छ। आयोजना अन्तर्गतको सुरुङको महत्वपूर्ण मानिएको दुई खण्ड  सुन्दरीजल-सिन्धुको सुरुङ जोडिएको छ । सुन्दरिजलबाट खन्दै गएको सुरुङ र सिन्धुबाट खन्दै आएको सुरुङ एक ठाउँमा जोडिएको मेलम्ची खानेपानी आयोजनाका आयोजना प्रमुख घनश्याम भट्टराईले जानकारी दिए।

सुरुङ खन्ने काममा महत्वपूर्ण उपलब्धी भएको भट्टराईले भने ‘बुधबारदेखि सुन्दरीजल र सिन्धुबीचको ९.४ किलोमिटर सुरूङ ‘ब्रेक थ्रू’ भएको हो।’ बुधबार दिउँसो साढे तीन बजेको समयमा दुई तिरबाट आएका सुरूङबीच ब्रेक थ्रु भएको हो। मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर सुरूङमा अब साढे ५ किलोमिटर सुरुङ खन्न बाँकी हुन्छ।

सिन्धुदेखि ग्यालथुमसम्मको २ दशमलव ८ किलोमिटर र ग्यालथुमदेखि अम्बाथानसम्मको २ दशमलब ७ किलोमिटर सुरूङ खन्न बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दवाडीले जानकारी दिए। यी ठाउँहरूमा कतिपए अवस्थामा नरम चट्टान देखिएकोले सुरुङ खन्न चुनौती समेत रहेको उनले बताए। सुरुङ खन्ने क्रममा नरम चट्टान धेरै देखियो भने काममा सुस्तता आउन सक्ने दवाडीको भनाई छ।

‘धेरै कामदार परिचालन गर्न पनि मिल्दैन। बेलाबेलामा उपकरण बिग्रने समस्या, उपकरण बनाउनका लागि बाहीरबाट नै सामग्री मगाउन पर्ने भएकाले हामीले बैकल्पिक प्रविधि र उपकरण मगाउन समेत ठेकेदार कम्पनीलाई भनेका छौ।’सुरूङ खन्ने क्रममा सोचे अनुसार काम भयो भने अब बाँकी सुरूङ बढीमा ७ महिनामा सकिने दवाडीको भनाइ छ। आगामी असोसम्म राजधानीका धाराहरूमा मेलम्चीको पानी आउने योजना रहेको छ।

एडीबीको मुख्य दाता रहेको यो आयोजनको लागत २३ अर्बभन्दा बढी छ । र, आयोजना सम्पन्न भएवपपछि दैनिक १७ करोड लिटर पानी आउने बताइएको छ।