गच्छदारको  पार्टी छोड्दै नेताहरु

0
21

नेताहरु पार्टी छाड्न थालेपछि मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) यतिबेला तनावमा रहेका छन् । पार्टीबाट नेता बाहिरिने क्रम बढेपछि पार्टीले राजनीतिक समितिको बैठक बोलाएको हो । तीनकुनेस्थित पार्टी कार्यालयमा आज मध्यान्ह बस्ने सांसदहरुसहित राजनीतिक समितिको बैठकमा नेताहरुले पार्टी किन छाड्दै छन् भन्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ ।

नेताहरु असन्तुष्ट

पार्टी अध्यक्षको कारण अधिकांश नेताहरु अन्तुष्ट रहेका छन् । राजनीतिक विषयमा अध्यक्षले स्पष्ट अडान नलिएको कारणले नेताहरुको असन्तुष्टि बढ्दै गएको छ । पछिल्लो दुई हप्तामा पार्टीका उपाध्यक्ष दानबहादुर चौधरी, पर्सा जिल्लाका अध्यक्ष शशीकपुर मियाँ र पार्टीका केन्द्रीय सदस्य लक्ष्मण थारुले पार्टी छाडिसकेका छन् । दानबहादुर चौधरी नयाँ शक्तिमा गएका छन् भने मियाँ तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् । जेलमा रहेका थारुले हाल कुनै पार्टीमा नजाने घोषणा गरेका छन् । यसअघि मृगेन्द्र यादवलगायतका नेताहरु पार्टी छाडेका छन् ।

अरु नेताहरु पनि पार्टी छाड्ने तयारीमा

अरु नेताहरु पनि पार्टी छाड्ने तयारीमा रहेका छन् । पार्टीका अर्का वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव पनि पार्टीको सम्पर्कमा छैनन् । उपाध्यक्ष यादव काठमाडौ छाडेर सर्लाहीमा गएर बसेका छन् । आजको बैठकमा पनि उनी उपस्थित रहने छैन । स्रोतका अनुसार अध्यक्ष गच्छदारले उपाध्यक्ष यादवलाई बैठकमा आउन खबर गरेका थिए । तर यादवले बैठकमा आउन सिधै नकार्दै यो तरिकाले पार्टी चल्न नसक्ने प्रतिकृया दिएका थिए । उनले गच्छदारलाई सुध्रिन पनि सुझाव दिएका छन् । त्यसपछि गच्छदारले बैठकमा आउनुहोस् सल्लाह गरेर के के गर्नुपर्छ गरौला भन्दा पनि उपाध्यक्ष यादव बैठकमा आउन नमानेको स्रोतले जनाएको छ । यता अर्का उपाध्यक्ष जितेन्द्र देव पनि पार्टीप्रति त्यति ध्यान नदिएको पार्टी स्रोतले जनाएको छ । 

अध्यक्ष गच्छदारले न पार्टीलाई सरकारमा जान दिएका छन् न आन्दोलनमा, त्यही भएर नेताहरु असन्तुष्ट बनेका छन् ।पार्टीको भूमिका कही नदेखिएको कारण नेताहरु निराश भएर अन्य पार्टी रोज्न थालेका छन् । सविधान संशोधनलगायतको राजनीतिक लफडा भइरहेको अवस्थामा पार्टीले अझै आफ्नो कुरा स्पष्ट नगरेको गच्छदारले आफ्ना आसेपासेलाई मात्र संरक्षण गरेका  कारणले पनि नेताहरुलाई बोल्न असजिलो भएकाले निराशा बढेको छ । 

प्रतिक्रिया दिनुहोस