सातौं राष्ट्रिय खेलकुद भोलिदेखि

0
22

राष्ट्रिय खेलकुदको सातौं संस्करण भोलिदेखि पूर्वाञ्चलका बिभिन्न १३ जिल्लाहरुमा सुरु हुँदैछ । तीन पटकसम्म आयोजना मिति तय हुँदै सर्दै गरेको भोलिबाट सुरु हुनेभएको छ । खेलकुद परिषदले सम्पूर्ण तयारी पूरा बताएपनि अझै केहि पुर्वाधारहरु निर्माणको क्रममै छ जसका कारण पूर्वाञ्चलमा हुने प्रतियोगितालाई सफल पार्न चुनौति देखिएको छ ।औपचारिक रुपमा प्रतियोगिता सुरु हुनुभन्दा अघिसम्म पनि पूर्वाधार निर्माण कार्य सकिएको छैन ।

खेलकुद परिषदले सातौैं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रयाप्त वजेट नहुँदा काम गर्न असजिलो भएको जनाएको छ । तर सदस्य सचिव केशवकुमार विष्टले केहि दिनअघि गरेको पत्रकार सम्मेलनमा भने बजेटका कारण प्रतियोगितामा असर नपर्ने प्रष्ट पारेका थिए । ३१ करोड रुपैयाँ प्रतियोगिताका लागि माग गरेकोमा पूरा रकम पाउन नसकेको परिषदको भनाइ छ । सुरुवातमा २० र त्यसपछि थप ११ करोड रूपैयाँ परिषदले मागेको थियो । तर सरकारले ८ करोड रूपैयाँ मात्र दिएको छ । मागे जति पैसा नपाएपछि राष्ट्रिय खेलकुद परिषदले मितव्ययी भएर सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नुपर्ने अवस्थामा पुगेको राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव केशव विष्ट जानकारी दिए ।

प्रतियोगिताका लागि छनौट भएका ३ हजार ९७२ खेलाडीहरु पूर्वाञ्चल पुग्ने क्रम सुरु भएको छ । उद्घाटनमा सहभागी हुन बोलाइएका खेलाडीहरु आज बिराटनगर पुगिसकेका छन् भने आग साँझसम्ममा सबै खेलाडीहरु पुगिसक्ने राखेप सदस्य सचिवका प्रेस सल्लाहकार रोहित दाहालले बताए । 

प्रतियोगितामा कुल ३५ खेल सामावेश गरिएको छ । छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समाविष्ट भएका खेल बाहेक खोखो, ट्रायथलन, सेपाकताक्रो र फेन्सिङ्ग खेललाई सातौंमा समावेश गरेको छ । ३५ खेल समावेश गरिएको भएपनि ३१ खेलका लागि मात्र खेलाडीबीच प्रतिपर्धा हुनेछ । २६८ स्वर्ण, २६८ रजत र ४१६ कास्य गरी कुल ९५२ पदकका लागि ३ हजार ९७२ खेलाडीले प्रतिस्पर्धा गदैछन् । प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगर रंगशालामा गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस