नेत्र विक्रम चन्द (विप्लव)का ११ जना कार्यकर्ता राजधानीबाट पक्राउ

0
11

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको माओवादी पार्टीका जनवर्गीय संगठनले बिहिबार उपत्यका बन्दको घोषणा गरेका छन् । यस क्रममा बन्द गराउन हिँडेका पार्टीका ११ जना कार्यकर्ता राजधानीबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी सिद्धिविक्रम शाहले दिएको जानकारी अनुसार राजधानीका विभिन्न क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् । शाहका अनुसार बागबजार क्षेत्रबाट ५ जना, बबरमहल क्षेत्रबाट ३ तथा नयाँ बजार क्षेत्रबाट ३ जना बन्दकर्ता पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा कृष्ण सेवा, केस सन्जेल, प्रदिप जंग शाही, लोकेश विश्वकर्मा, राम बहादुर विश्वकर्मा, सुरज खड्का, राजन गिरी, सरोज पराजुली लगायत छन् ।

उनका अनुसार हालसम्म आगजनी र तोडफोडजस्ता कुनै अप्रिय घटना हुन दिइएको छैन । बन्द पछि राजधानीमा उच्च सुरक्षा सतर्कता अपानाइएको छ । प्रहरी बिहानै देखि राजधानीका मुख्य चोक चोकमा तैनाथ गरिरहेका छन् ।बिहीबार बिहानैदेखि गाडीको आवतजावत सामान्य छ। प्रहरीले ढुक्क भएर सवारी चलाउन यातायात व्यवसायी र सवारी चालकलाई अनुरोध गरेको छ।

भाडाका सवारी थोरै मात्रामा चलिरहेका छन् भने निजी सवारी विशेष गरेर मोटरसाइकलको सडकमा बाक्लो उपस्थिति रहेको छ । पेट्रोलियम पदार्थमा भएको मुल्यबुद्धिको विरोधमा विप्लव नेतत्वको माअ‍ोवादीका जनवर्गीय संगठनले बुधवार उपत्याका बन्दको घोषणा गरेको थियो। राष्ट्रिय युवा जनस्वयंसेवकका अध्यक्ष झकबहादुर मल्ल, अखिल क्रान्तिकारी ट्रेड यूनियनका केन्द्रीय सदस्य अनुप शर्मा र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पूर्णबहादर सिंहले विज्ञप्ती निकालेर बन्दको घोषणा गरेका हुन् । यस अघि उनीहरुले आयल निगम बाहिर प्रर्दशन गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस