संसदको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले संशोधन प्रस्तावको विरोधमा आज पनि संसद बैठक अवरुद्ध पार्ने भएपछि सहमतिको लागि भन्दै आगामी पुस ४ गतेसम्मको लागि बैठक स्थगित गरिएको हो ।
दलहरुबीच संसद गतिरोध अन्त्य गर्न छलफल भइरहेकाले सहमतिको लागि सूचना मार्फत स्थगित गरिएको सभामुख ओनसरी घर्तीका प्रेस सहयोगी बबिन शर्माले बताए । दलहरुले सहमतिको पहल भइरहेकाले सभामुखलाई सदनको काम कारबाही पर सार्न आग्रह गरेपछि बैठक स्थगित गरिएको बताइएको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक पुस ४ गतेसम्मको लागि स्थगित भएको जनाएको छ ।
सभामुख ओनसरी घर्ती हिजोमात्रै विदेश भ्रमणबाट स्वदेश फर्किएकी थिइन् । विदेश जानुअघि सहमतिको प्रयास स्वरुप दलहरुसँग छलफल गरेकी घर्तीले पुन छलफलको क्रमलाई अघि बढाउने बताइएको छ ।