चिकित्सा शिक्षामा व्याप्त बेथितिले विद्यार्थी घटे

0
20
त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले यसपालि एमबिबिएस भर्नाका लागि कात्तिक २२ गते दरखास्त आह्वान गरेको थियो तर तोकिएको समयमा विद्यार्थी नआएपछि आइओएमले दोस्रोपटक मंसिर २ गते फेरि दरखास्त आह्वान गर्यो। दोस्रोपटक पनि विद्यार्थी नआएपछि मंसिर १२ गते तेस्रो सूचना निकाल्यो । तेस्रोपटक पनि विद्यार्थी नअाएपछि अाइअोएमले चौथोपटक मंसिर २६ गते अर्को सूचना निकालेको छ।
 
एमबिबिएस पढ्न विद्यार्थी नआएर चार–चारचोटि दरखास्त आह्वान गर्नुपरेको यो आइओएम इतिहासमै पहिलोपटक हो। 
 
काठमाडौं विश्वविद्यालयको पनि यही हाल छ।
 ku

काठमाडौं विश्वविद्यालयले आफूअन्तर्गतका मेडिकल कलेजमा एमबिबिएस विद्यार्थी भर्ना गर्न एकपटक प्रवेश परीक्षा लिइसक्यो। पटक-पटक सूचना निकालेर अाह्वान गर्दा पनि पूरै सिट ‘प्याक’ नभएपछि विश्वविद्यालय दोस्रो पटक प्रवेश परीक्षा लिने तयारीमा छ। एउटै शैक्षिक सत्रका लागि एक चोटिभन्दा बढी प्रवेश परीक्षा लिनु वैध मानिँदैन।

काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूमा झन्डै हजार सिटसंख्या छ। त्यसमध्ये डेढ सयभन्दा बढी सिट खाली छन्। यसरी खाली हुने कलेजमा चितवन, देवदह, विराट, नोबेल मेडिकल कलेजलगायत छन्। 
 
काठमाडौं विश्वविद्यालयको आफ्नै मेडिकल कलेजमा पनि विद्यार्थी छैनन्। बिडिएसअन्तर्गत त आधा पनि विद्यार्थी पाउन मुस्किल परिरहेको अवस्था छ। बिडिएस कार्यक्रममा करिब अढाइ सय सिट छ। त्यसमा पनि १ सय ५० सिट खाली रहेको स्रोत बताउँछ।
 
विश्वविद्यालयले एकपटक प्रवेश परीक्षा लिँदा पनि सिट नभरिएपछि शैक्षिक क्यालेन्डर नै पर सरेको सम्बद्ध अधिकारीले जनाएका छन्।
 
काठमाडौं विश्वविद्यालयका अनुसार अगस्ट महिनाबाटै शैक्षिक क्यालेन्डर सुरू हुनुपर्ने हो। यसपालि डिसेम्बर महिनाको आधा पुग्दा पनि सिट नभरिँदा शैक्षिक क्यालेन्डर पर सरेको छ। विश्वविद्यालयका रजिस्ट्रार डा. भोला थापा मेडिकल कलेजको सिटसंख्या तोक्न ढिला हुनु र धेरै विद्यार्थी छात्रवृत्तिका लागि शिक्षा मन्त्रालय धाउन थालेकाले एमबिबिएस भर्ना ढिलो भएको बताउँछन्।
 
पढाइ सुरू भइसक्नुपर्ने बेला दोस्रो प्रवेश परीक्षा लिँदा पनि विद्यार्थी अाएनन् भने कतिचोटि परीक्षा लिने भन्नेबारे विश्वविद्यालय नै अन्योलमा छ।
 
विगतमा एमबिबिएस भर्ना सुरु हुने बेला विद्यार्थी ‘मारामार’ हुने मेडिकल कलेजहरूले यसपालि तोकिएको सिटअनुरुप विद्यार्थी पाएका छैनन्। चिकित्सा शिक्षामा व्याप्त विकृति र बेथिति उजागर भइरहेका बेला पहिलोपटक एमबिबिएसतर्फ विद्यार्थीको रुचि घटेको पाइएको हो।
 
आइओएमबाट सम्बन्धनप्राप्त आठवटा मेडिकल कलेजमा एमबिबिएस सिटसंख्या ८ सय ३६ छ। त्यस्तै, दुईवटा डेन्टल कलेजका लागि बिडिएसतर्फ २ सय ८० सिटसंख्या निर्धारण गरिएको छ। यस मध्ये नयाँ शैक्षिक सत्रका लागि १० प्रतिशत विद्यार्थी पनि नपुगेको आइओएम स्रोत बताउँछ। अहिलेका लागि १० प्रतिशत पनि विद्यार्थी छैनन् भन्दा अन्यथा हुँदैन, आइओएम स्रोतले भन्यो।
 
मेडिकल कलेजहरूमा विद्यार्थी नै नपुगेपछि आइओएमका नवनियुक्त डिन जेपी अग्रवालसमेत तनावमा रहेको स्रोतको भनाइ छ। ‘अहिलेसम्म विद्यार्थीको सिट नभरिएर पढाइ सुरू हुन नसकेको स्थिति हो,’ थापाले सेतोपाटीसँग भने, ‘पूरा सिट नभरिकन पढाइ सुरु गर्न हामीलाई अप्ठेरो छ, यसमा आर्थिक पाटो पनि सँगै जोडिएकाले हाम्रो बाध्यता पनि छ।’
 
एमबिबिएस पढाइको स्थिति गत वर्षसम्म यस्तो थिएन। सिट संख्याभन्दा इच्छुक विद्यार्थी धेरै भएर मेडिकल कलेजहरूमा हानथाप नै हुन्थ्यो। यसपालि विद्यार्थी आउन फिटिक्कै मानेका छैनन्। यस अवधिमा चिकित्सा शिक्षामा व्याप्त बेथिति छताछुल्ल हुनु र मेडिकल कलेजहरूले पनि तोकिएभन्दा बढी शुल्क लिनुले विद्यार्थी घटेको हुन सक्ने एक आइओएम पदाधिकारीले बताए। सरकारी अनुगमनको अभावमा देशभरिका मेडिकल कलेजले अझै पनि आफूखुसी शुल्क उठाइरहेको पाइएको छ। वरिष्ठ चिकित्सक गोविन्द केसीले दसौं सत्याग्रह तोड्दा एमबिबिएसमा उपत्यकाभित्र ३८ लाख ५० हजार, उपत्यकाबाहिर ४२ लाख ४५ हजार र बिडिएसमा १९ लाख ४३ हजार शुल्क तोकिएको थियो। नेपाली विद्यार्थीको सिटसंख्या प्याक भइसकेको दाबी गर्दै मेडिकल कलेजहरूले तोकिएको शुल्कको झन्डै दोब्बरसम्म उठाइरहेको स्रोतको भनाइ छ।
 
नेपालभित्र पढ्ने विद्यार्थी मात्र होइन, यस वर्ष एमबिबिएसका लागि विदेश जाने विद्यार्थी पनि घटेका छन्। नेपाल मेडिकल काउन्सिलका अनुसार गत वर्ष झन्डै १ हजार २ सय विद्यार्थी विदेश पढ्न गएकामा यसपालि दुई सय मात्रले आवेदन दिएका छन्। 
 
एमबिबिएस अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई नेपालमै प्रवेश परीक्षा दिएर मात्रै जान पाउने नियम बनाइएको छ। पहिले प्रवेश परीक्षा नदिइकन जान पाउँदा विद्यार्थीको संख्या बढी थियो। यहाँको प्रवेश परीक्षा पास गर्न नसक्ने र यहाँका मेडिकल कलेजमा बढी शुल्क तिर्न नसक्ने विद्यार्थी नै धेरै विदेश गइरहेको मेडिकल काउन्सिलको तथ्यांकले देखाउँछ। ‘कुनै विश्वविद्यालयबाट प्रवेश परीक्षा दिएर मात्रै विदेश पढ्न जान पाउने व्यवस्था बनाएपछि विद्यार्थी घटेको हाम्रो अनुमान छ,’ काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने। उनका अनुसार गत वर्ष यही अवधिमा सात आठ सय जनाले आवेदन दिएका थिए, यसपालि दुई सय नाघेको छैन।
 
मेडिकल शिक्षाका जानकार तथा सुधार अभियानमा सक्रियहरू यसरी शैक्षिक क्यालेन्डर भताभुंग हुँदा त्यसको असर दुरगामी हुने बताउँछन्। 
 
‘मेडिकल शिक्षामा विद्यार्थीको ८० प्रतिशत हाजिरी अनिवार्य मानिन्छ। दुवै विश्वविद्यालयले यो शैक्षिक वर्षको २० प्रतिशत समय (सवा दुई महिना) मा पढाइ सुरू गरेनन् भने भर्ना भइसकेका विद्यार्थीले पनि कम्तीमा छ महिना ढिलो गरी डिग्री लिनुपर्ने हुन्छ,’ मेडिकल शिक्षा सुधार अभियन्ता डा. जीवन क्षत्रीले सेतोपाटीसँग भने, ‘त्यसो नगरी तोकिएको समयमै डिग्री दिइए त्यसको वैद्यतामाथि प्रश्न उठ्छ।

प्रतिक्रिया दिनुहोस