जनप्रतिनिधिलाई सरकारी सवारी साधन मोह

0
15

स्थानीय तहमा विकासले गति लिन सकेको छैन । तर, स्याङ्जाका जनप्रतिनिधिलाई भने सरकारी गाडी मोह बढ्दै गएको छ । निर्वाचित भएसंगै गाडी खरिद गरेका जनप्रतिनिधिलाई दुई वर्ष पनि नपुग्दै पुनस् अर्को गाडी मोह बढेको छ । उनीहरु नयाँ गाडी खरिदको तयारीमा छन् । नगररगाउँ प्रमुखको लागि गाडी खरिदसंगै उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई समेत गाडी किन्ने तयारीमा रहेको बताउँछन् । यसो त सबै नगर र गाउँका प्रत्येक वडाका वडाध्यक्षहरुलाई मोटरसाइकलको व्यवस्था गरिएको छ ।

विकास निर्माणको लागि सवारी साधन अनिवार्य भन्दै सवारी साधन खरिदको लागि ५ नगर र ६ गाउँपालिका सबैले रकम विनियोजन गरेको बताएका छन् । यसैगरी अर्जुनचौपारी गाउँपालिकामा एउटा चार पाङग्रे गाडी छ । प्रत्येक वडा–वडा र कार्यपालिकामा गरी १२ वटा मोटरसाइकल खरिद गरेको जनाएको छ । ३ नम्बर वाडमा भने दुईवटा मोटरसाइकल छन् । प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार गाउँ कार्यपालिकामा थप अर्को गाडी आवश्यक छ । यस्तैगरी हरिनास गाउँपालिकामा हालसम्म चारपाङग्रे गाडी खरिद गरेको छैन । गाउँपालिका अध्यक्षले निजी गाडीलाई ट्याक्स कटाएर मासिक ९० हजार रुपैयाँ भाडा लिने गरी प्रयोग गर्दै आएका छन् । सातवटा वडामध्ये ५ वटामा मोटरसाइकल, उपाध्यक्षसहित दुईवटा वडामा स्कूटर खरिद गरिएको छ ।

फिल्डको लागि गाडी भन्दा पनि मोटरसाइकल नै उपयुक्त हुने भएकाले सबै जनप्रतिनिधिको लागि मोटरसाइकल खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रामीण भेगमा मोटरसाइकल नै छिटो र छरितो साधन हो । यसरी नै फेदीखोला गाउँपालिकामा पनि स्कारपियो एउटा सवारी छ । ५ वटा वडा रहेको यस पालिकामा ४ वटा वडाध्यक्षको लागि मोटरसाइकल खरिद गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा वडाका वडाध्यक्ष र वडा सचिव दुबैले मोटरसाइकल नै चलाउन नसक्ने भएकाले खरिद नगरिएको हो । वडामा खरिद गरिएका मोटरसाइकल पनि नगर र गाउँ कार्यपालिकाले नै खरिद गरेको बताएको छ । त्यसैगरी बिरुवा गाउँपालिकामा चारपाङग्रे एउटा गाडी छ भने ८ वटा वडासहित कार्यपालिकामा गरी १२ वटा मोटरसाइकल खरिद गरिएको बताइएको छ ।

कार्यपालिकामा आवश्यकतानुसार मोटरसाइकल खरिद गरिएको कार्यालयले जनाएको छ । यसरी नै कालीगण्डकी गाउँपालिकामा चारपाङग्रे एउटा गाडी र ५ वटा मोटरसाइकल खरिद गरिएको छ । बाँकी रहेका तीनवटा वडालाई पनि मोटरसाइकल लिने तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत गणेश खनालले बताउनुभयो ।

आँधीखोला गाउँपालिकामा चारपाङग्रे महेन्द्र पिकअप सहित ५ वटा मोटरसाइकल खरिद गरिएको छ । वडाध्यक्षलाई भने मोटरसाइकल चलाउन नजान्ने भएकाले तत्काल खरिद नगरिएको कार्यपालिकाले जनाएको छ । ३ वटा वडाध्यक्ष लाइसेन्स प्राप्त भएकाले उनीहरुको लागि मोटरसाइकल किन्ने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृतले बताउनुभयो । उहाँका अनुसार ३ वटा बाइक खरिदको लागि ७ लाख रुपैयाँ बजेट छुटाइएको छ । यदि विनियोजन गरेको रकम अपुग भएमा मेसिनरी खर्चबाट थप्न सकिने उहाँले बताउनुभयो ।

गाउँपालिका सबै नयाँ तह भएकाले जनप्रतिनिधि निर्वाचित भएपछि सवारी खरिद गरिएको हो । जिल्लाकै पुरानो नगरपालिका पुतलीबजारमा पुरानो गाडीसहित संघीयता कार्यान्वयनसंगै नयाँ चारपाङग्रे गाडी खरिद गरिएको छ । १४ वटा वडाका वडाध्यक्षको लागि एकरएकवटा मोटरसाइकल खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत रुद्र मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार नगर कार्यपालिकामा कार्यरत कर्मचारीका लागि ६ वटा मोटरसाइकल खरिद गरिएको छ । यसैगरी गल्याङ नगरपालिकामा एउटा गाडीसहित हालसम्म ११ वटा मोटरसाइकल रहेका छन भने, १० वटा मोटरसाइकल खरिद गर्ने तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत ईश्वरी पाण्डेले बताउनुभयो । उहाँका अनुसार एघार वटा वडामध्ये ५ वटा वडालाई मोटरसाइकल पुगेको छैन । नगरप्रमुखलाई गाडी भएसंगै उपप्रमुखको लागि पनि नयाँ गाडी किन्ने तयारी रहेको कार्यपालिकाले जनायो ।

यसैगरी भीरकोट नगरपालिकामा प्रमुख र उपप्रमुखको लागी चारपाङग्रे गाडी छ । ९ वटा वडाध्यक्ष सहित कर्मचारीको लागि १४ वटा मोटरसाइकल खरिद गरिएको छ । चापाकोट नगरपालिकामा नयाँ र पुरानो गरी दुईवटा चारपाङग्रे गाडी छन् । नयाँ गाडी नगरप्रमुखले प्रयोग गर्दै आएका छन भने, उपप्रमुखको लागि अर्को गाडी खरिद गर्ने तयारी कार्यपालिकाको छ । चापाकोटमा जम्मा ५ वटा मोटरसाइकल छन् । दुईवटा ईन्जिनियर र ३ वटा वडा सचिवले प्रयोग गर्दै आएका छन् । प्रत्येक वडाध्यक्ष र कर्मचारीलाई पुग्नेगरी ७ वटा मोटरसाइकल र ३ वटा स्कुटर किन्ने तयारी रहेको जनाइएको खबर कान्तिपुरमा छापिएको छ ।

यस्तैगरी स्मार्ट वालिङको अवधारण लिएर अगाडि बढेको वालिङ नगररपालिकामा पनि चारपाङग्रे तीन वटा जिप र कारसहित १० वटा मोटरसाइकल खरिद गरिएको छ । धेरै जनसंख्या र ठूलो क्षेत्रफल रहेको वालिङले स्मार्ट सिटी र भ्यालेज बनाउने लक्ष्य स्वरुप छिटो र छरितो रुपमा काम गर्न सवारी साधन आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत गुणदत्त सुवेदीले बताउनुभयो । उहाँका अनुसार दमकल एक, जेसभी एक, फोहोर बोक्ने टिपर २ र ट्याक्टर १ वटा छन् ।

प्रतिक्रिया दिनुहोस