उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमणका लागि सिचुवानमा

0
14

उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमणका लागि चीनको सिचुवान प्रान्तका राजधानी छेन्दु पुगेका छन् । उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरे। सिए ४३८ नं. को एयर आईनाको विमानबाट स्थानीय समयअनुसार ३ः४० बजे छेन्दु पुगेका हुन् ।

उपराष्ट्रपतिलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त जनसरकारका उपसचिव यान वि पिङले स्वागत गरेका छन् । उपराष्ट्रपति छेन्दुमा बिहीबारबाट सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर चीन गएका हुन् । उनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । उपराष्ट्रपति पुनले असोज ४ गते नै ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

चीनमा रहँदा उनिसँग चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने तय भएको छ । उनले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नेछन् । उपराष्ट्रपति पुन चीनको भ्रमण सकेर असोज ८ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस