अमेरिकामा निर्वस्त्र बन्दुकधारीले गोली चलाउँदा चारको मृत्यु

0
12

अमेरिकी राज्य टेनेसीको न्यासभिल शहरको बाहिरी क्षेत्रमा गोलीबारी भएको छ । बन्दुक बोकेका एक नग्न व्यक्तिले रेष्टुरेन्टमा गोलीबारी गर्दा चारको मृत्यु भएको छ । बीबीसीका अनुसार, ती व्यक्ति स्थानीय समयानुसार बिहान तीन बजेर २५ मिनेटमा न्यासभिलको दक्षिण–पूर्वी उपनगर एनिटोचको व्याफले हाउसमा छिरे । र, सेमी अटोमेटिक राइफलद्वारा गोलीबारी सुरु गरे ।

घटनामा अन्य दुईजनासमेत घाइते भएका छन् । तीमध्ये एकले हमलाकर्ताको हातबाट उनको राइफल खोसेका थिए । यसै क्रममा हमलाकर्ता घटनास्थलबाट फरार भए । पुलिसले हमलाकर्ताको पहिचान २९ वर्षीय ट्रेविस रेनकिंगको रुपमा गरेको छ । उनको खोजी कार्य जारी छ । न्यासभिलका पुलिस प्रवक्ता डान एरोनका अनुसार ट्रेविसलाई गत वर्ष ह्वाइट हाउस नजिकैबाट पक्राउ गरिएको थियो । उनलाई प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेपछि पक्राउ गरिएको थियो ।

कसरी भयो हमला ?
हमलाकर्ता एक पिकअप ट्रकमार्फत रेष्टुरेन्ट बाहिर पुगे र लगत्तै बाहिरका दुईजनामाथि गोली हाने । त्यसपछि उनले रेष्टुरेन्ट भित्र गएर गोलीबारी गरे । तीनजनाको घटनास्थलमा नै मृत्यु भयो भने चौथो व्यक्तिको अस्पतालमा मृत्यु भयो । प्रहरीका अनुसार गोली हान्ने व्यक्ति नांगै थिए । उनले एक हरियो रंगको ज्याकेटमात्र लगाएका थिए त्यो पनि गोली हान्ने बेला घटनास्थलमै खसेको पुलिसले जानकारी दिएको छ ।

गत अप्रिलको शुरुमा एक महिलाले यूट्युबको हेडक्वाटरमा आक्रमण गरेकी थिइन् जसमा चार जना घाइते भएका थिए । गोली चलाएपछि ति महिलाले आफैलाई गोली हानेर आत्महत्या गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस