कोरियामा बिद्यार्थीद्वारा मैत्रीपुर्ण खेलकुद प्रतियोगिता तथा नया बिद्यार्थीका लागि अभिमुखिकरण (Orientation) कार्यक्रम सम्पन्न

0
18

जितु उपाध्यायको सहयोगमा

नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले आसान सहरमा रहेको सनमुन युनिवर्सिटीमा “सोनसिक चौथो खेल उत्सब” तथा अभिमुखिकरण (Orientation) कार्यक्रम” सफलतापूर्वक आयोजना गरेको छ । अप्रिल ८ मा आयोजना गरिएको Orientation कार्यक्रममा कोरियाका विभिन्न १० बिश्वबिद्यालयमा यस शैक्षिक सत्रमा अध्ययन गर्न आएका ३१ जना नया बिद्यार्थीहरु सहित करिब ७० जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा कोरियामा नेपाली बिद्यार्थीको बर्तमान अवस्था, अध्ययन गर्ने क्रममा आई पर्ने चुनौती तथा अवसर लगायतका जानकारी मूलक बिषय समेटेर सोनसिकका सल्लाहकार डा. रमेश कुमार पाण्डे ज्यूले प्रस्तुति गर्नुभएको थियो ।

यसका साथै सोनसिक तेह्रौं कार्यसमितिको ८ महिनामा गरिएका गतिविधिहरु र आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरुको बारेमा समेत जानकारी प्रदान गरिएको थियो । कोरियामा अध्ययन तथा अध्यापन गराउदै आउनु भएका अग्रजहरु मार्फत आफ्नो अनुभवहरु तथा सहज तरिकाले कोरियामा रहनका लागि उपयोगी ज्ञान प्रदान गरिएको थियो । यस कार्यक्रमले नव-आगन्तुक बिद्यार्थीहरुको कोरिया बसाइ केहि सहज पार्ने कुरा सोनसिकका अध्यक्ष आराजना श्रेष्ठले जानकारी गराउनु भएको छ। यसका साथै दोस्रो दिन अप्रिल ९ मा सोनसिक चौथो मैत्रीपुर्ण खेलकुद प्रतियोगिता पनि सफलतापूर्वक आयोजना गरेको छ । बिद्यार्थीहरुलाई मनोरंजन, बिश्वबिद्यालयको ब्यस्त शैक्षिक कार्यक्रमबाट केहि फरकपन तथा कोरियामा विभिन्न बिश्वबिद्यालयमा अध्ययन गर्दै आएका बिद्यार्थीहरु बीच भेटघाटको बाताबरण, मिलाई मित्रता एवं आपसी सम्बन्ध प्रगाढ बनाउने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न बिश्वबिद्यालयका गरि करिब १५० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो। फूटबल, भलिबल, बास्केटबल, छुग्गु, ब्याडमिन्टन र दज्बल लगायतका खेलहरु समावेश रहेको खेल उत्सव बिद्यार्थीहरुले निकै सक्रियतापूर्वक सहभागिता जनाएका थिए ।

यस कार्यक्रमले कोरिया भरि छरिएर रहेका बिद्यार्थीहरुमाझ भेटघाटको राम्रो अवसर जुराएको सहभागी बिध्यार्थीहरुले जनाएका थिए । कार्यक्रम पश्चात बिजेता बिद्यार्थीहरुलाई मेडल, ट्रफी तथा नगद उपहार प्रदान गरिएको कुरा सोनसिक सचिब केशव थापाले जानकारी गराउनु भएको छ । सोनसिकले कोरियामा रहेका नेपाली बिद्यार्थीहरुलाई लक्षित गर्दै बिभिन्न शैक्षिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । सोनसिकले आयोजना गरेको उक्त कार्यक्रममा सोनसिकका उप-सभापति जीवन कुमार बन ज्यू ले समन्वयकको भूमिका निभाउनु भएको थियो। उक्त कार्यक्रममा काठमाडौँ बिश्वबिध्यालयका प्राध्यापक तथा सोनसिकका संस्थापक सभापति प्रा. डा. जनार्धन लामिछाने ज्यू प्रमुख अथितिको रुपमा उपस्थिति हुनु भएको थियो । सोनसिक अध्यक्ष आरजना श्रेष्ठको अध्यक्षतामा भएको खेलकुद प्रतियोगिताको स्थानीय व्यवस्थापन सनमुन युनिवर्सिटीमा नेपाली बिद्यार्थीहरुको समुहले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस